You are here: गृहपृष्‍ठसान्दर्भिक सुचनास्वास्थ्य प्रजनन् स्वास्थ र यौनिक शिक्षा

Download

परिवार नियोजनका साधनहरू

केटी र केटाबिच असुरक्षित यौन सम्पर्क (परिवार नियोजनको साधन प्रयोग नगरीकनै) भयो र योनिभित्र नै वीर्य खसालेमा गर्भ धारण हुने सम्भावना एकदमै बढी हुन्छ । केटाको लिङ्गबाट निस्केको शुक्रकीट योनिमार्ग हुदै डिम्ब बाहिनी नलीसम्म पुग्छ र डिम्ब पनि डिम्बाशयबाट निक्लेर त्यही नलीमा आइ पुग्छ र दुबै (शुक्रकीट र डिम्ब) को मिलन हुन्छ । त्यस पश्चात् निषेचित डिम्ब पाठेघरमा भ्रूणकारूपमा आउछ, र उक्त भ्रूण बच्चाका रूपमा विकसित हुन थाल्छ । नौ महिनासम्म उक्त भू्रणलाई बच्चाका रूपमा विकसित गर्नका लागि आवश्यक पर्ने वातावरण पाठेघरले प्रदान गर्दछ । हामीले ध्यान दिनु पर्ने कुरा के छ भने यौन सम्पर्क गर्नु पहिले नै परिवार नियोजनका साधनका बारेमा छलफल गर्नुपर्छ, । एक महिनाको महिनावारी प्रक्रियामा केही समय सुरक्षित समय पनि हुन्छ जुन वेला गर्भ धारण हुने सम्भावना कम हुन्छ तर यो मात्र त्यस्तो व्यक्तिमा लागु हुन्छ जसको महिनावारी नियमित र सही समयमा हुन्छ । थप ध्यान दिनु पर्ने कुरा के छ भने पहिलो महिनावारी हुनुभन्दा केही समयअघि पनि गर्भवती हुन सक्ने सम्भावना रहन्छ । त्यसकारण गर्भवती नभइयोस् भन्नका लागि परिवार नियोजनका साधनको अनिवार्य रूपमा प्रयोग गर्नु आवश्यक छ ।

मानिसको शरीरमा मसिनो धागो जस्तो जैविक (बंशाणुगत) गुणहरू निर्धारण गर्ने २३ जोर क्रोमोजोमहरू रहेका हुन्छन् भन्ने सायद तपाईंहरूले जैविक विज्ञानमा पढ्नु भयो होला । यसमध्ये २३ औ क्रोमोजोमले (XY) भने लिङ्ग (छोरा वा छोरी) निर्धारण गर्दछ । जैविकविद् (biologist)ले पत्ता लगाए अनुसार यस्ता क्रोमोजोम महिलामा XX र पुरुषमा XY हुन्छन् । यौन सम्पर्कको वेला जब पुरुषले महिलाको योनिमा वीर्य खसाल्दछ त्यति वेला धेरै शुक्रकीटहरू पनि झर्ने गर्दछन् । त्यति वेला डिम्ब र शुक्रकीटको मिलन हुने वेलामा यदि महिलाका तर्फबाट X र पुरुषका तर्फबाट Y आएमा छोरा हुन्छ भने पुरुषका तर्फबाट X नै आयो भने चाहि छोरी हुन्छे । त्यसैले बच्चाको लिङ्ग निर्धारण एउटा व्यक्तिले चाहेर हुदैन किनकि यो डिम्ब र शुक्रकीटको मिलन हुदा कुन चाहि क्रोमोजोमको मिलन भएको छ त्यसको आधारमा (छोरा वा छोरी) हुन्छ ।

नेपालमा उपलब्ध सुरक्षित तथा निःशुल्क परिवार नियोजनका साधनहरू

१. पुरुषले प्रयोग गर्ने कण्डम (Condom)

कन्डम पुरुषको उत्तेजित लिङ्गमा लगाउने परिवार नियोजनको साधन हो । कन्डम मात्र एउटा यस्तो साधन हो जसले गर्भवती हुन र यौनजन्य सङ्क्रमण जस्तै; एच.आई.भी. र धेरै यौनरोगहरू सर्नबाट रोक्दछ । त्यसैले कन्डमले मात्र दुई प्रकारको सुरक्षा एकैसाथ गर्न सक्दछ भन्ने बुझ्ने छन् । साधारणतया यो सजिलै पाउन सकिन्छ र यो एक पल्ट लगाएपछि फेरि दोहोर्याएर प्रयोग गर्न मिल्दैन र तपाईंले कन्डमको सही प्रयोग कसरी गर्ने भन्ने जान्नु भयो भने तपाईंलाई कुनै स्वास्थ्यकर्मीको आवश्यकता पर्दैन । पुरुष कन्डम बजारमा सजिलै प्राप्त गर्न सकिन्छ । यो हरेक औषधी पसल लगायत खुद्रा दोकानहरूमा थोरै पैसामा पनि किन्न सकिन्छ भने सरकारी स्वास्थ्य चौकीहरूमा निःशुल्क प्राप्त गर्न सकिन्छ । त्यसै गरी महिला स्वास्थ्य स्वयंसेविकाहरू बाट पनि कन्डम प्राप्त गर्न सकिन्छ । दम्पतीले बच्चा जन्माउन चाहेमा यसको प्रयोग गर्न छाड्ने बित्तिकै बच्चा उत्पादन गर्न सकिन्छ । कन्डममा कुनै हर्मोन नहुने हुदा यसले शरीरमा कुनै असर पार्दैन ।

२. महिलाले प्रयोग गर्ने कण्डम (Femidom)

महिलाको योनिभित्र छिराएर राख्ने परिवार नियोजनको साधनमध्ये एक महिला कण्डम हो । महिला कन्डमले पनि पुरुष कन्डमले जस्तै गर्भवती हुन रोक्नका साथै यौनजन्य रोगहरूबाट र एच.आई.भी. सङ्क्रमण हुनबाट बचाउदछ । दम्पतीले बच्चा जन्माउन चाहेमा यसको प्रयोग गर्न छाड्ने बित्तिकै बच्चा उत्पादन गर्न सकिन्छ । यस कन्डममा कुनै हर्मोन नहुने हुदा यसले शरीरमा कुनै असर पार्दैन । नेपालमा महिला कन्डम निजी औषधी पसलहरूमा मात्र उपलब्ध छ । बजारमा महिला कन्डम फेमिडोम, भीअमोर ब्रान्डमा उपलब्ध छ ।

३. गर्भ निरोधक चक्की (Oral Contraceptive Pills)

महिनावारी भएको ५ दिनमा महिलाले खाने चक्की नै गर्भ निरोधक चक्की हो । यो चक्की बिहान अथवा बेलुकी एउटै समयमा दैनिक एक चक्की खाने गर्नु पर्छ । गर्भ निरोधक खाने चक्कीलाई धेरै प्रभावकारी परिवार नियोजनका साधनका रूपमा लिइन्छ । यो सजिलै प्राप्त गर्न सकिन्छ । यो हरेक औषधी पसलमा थोरै मूल्यमा पनि किन्न सकिन्छ भने सरकारी स्वास्थ्य चौकीहरूमा निःशुल्क प्राप्त गर्न सकिन्छ । त्यसै गरी महिला स्वास्थ्य स्वयंसेविकाहरू बाट पनि प्राप्त गर्न सकिन्छ । दम्पतीले बच्चा जन्माउन चाहेमा यसको प्रयोग गर्न छाड्ने बित्तिकै बच्चा उत्पादन गर्न सकिन्छ । यसको प्रयोगले केही महिलाहरूमा बान्ता आउला जस्तो हुने, टाउको दुख्ने, बढी रक्तस्राव हुने वा वजन बढ्ने जस्तो प्रभाव देखिन्छ । गर्भ निरोधक खाने चक्कीको प्रयोगले यौनरोग तथा एच.आई.भी. सङ्क्रमण हुनबाट जोगाउदैन । एउटै समय पारेर नबिराई खायो भने मात्र यो प्रभावकारी हुन्छ । कसै कसैलाई यो चक्की खाने बित्तिकै बान्ता हुने वा पखाला लाग्ने हुदा यसको प्रभावकारितामा कमी आउन सक्छ त्यसैले यस्तो अवस्थामा कन्डमको प्रयोग गर्नु उपयुक्त हुन्छ ।

४. गर्भ निरोधक सुई (Injection)

यो महिलाको पाखुरा वा नितम्बमा लगाइन्छ । महिनावारी चक्रको सात दिनभित्र यो सुई लगाइन्छ । यो एक चोटी लगाउँदा यसले तिन महिनासम्म गर्भवती हुनबाट जोगाउँछ । यो सरकारी स्वास्थ्य चौकीहरूमा निःशुल्क उपलब्ध छ र औषधी पसलहरूमा थोरै मुल्यमा लगाउन पाइन्छ । यसले पाचनमा परिवर्तन आउन सक्छ साथै वजनमा परिवर्तन (बढ्न वा घट्न सक्छ) । महिनावारी नहुँदा पनि रगत देखिन सक्छ । रिंगटा लाग्ने वाकवाक आउला जस्तो हुने पनि हुन सक्छ । यसले एच.आई.भी. र अन्य यौनजन्य सङ्क्रमणबाट जोगाउँदैन । यो प्रत्येक तिन महिनामा तालिम प्राप्त स्वास्थ्यकर्मीबाट मात्र लगाउनु पर्छ ।

५. आकस्मिक गर्भ निरोधक खाने चक्की (Emergency Contraceptive Pill)

विशेष गरी कन्डम प्रयोग गर्दा फुटेर गर्भ धारणको जोखिम बढेमा वा जोडीले असुरक्षित यौन सम्पर्क (गर्भ निरोधक साधनको प्रयोग विना) गरेमा यसको प्रयोग गर्न सकिन्छ । असुरक्षित यौन सम्पर्क भए पश्चात् जति सक्यो छिटो (बढीमा १२० घण्टासम्ममा) यसको सेवन गरी नचाहेको गर्भ धारणबाट महिलाले आफूलाई जोगाउन सक्दछन् । आकस्मिक गर्भ निरोधक चक्की स्वास्थ्य चौकीहरूमा निःशुल्क प्राप्त गर्न सकिन्छ भने औषधी पसलहरूमा थौरै मूल्यमा किन्न सकिन्छ । यो चक्की खाएको एक दुई दिनपछि अनियमित रूपमा हल्का रक्तस्राव हुने, महिनावारी हुनुभन्दा पहिल्यै रगत देखा पर्ने हुन सक्छ, चक्की खाएको (एक हप्तापछि) वाकवाक लाग्ने, पेट दुख्ने, टाउको दुख्ने, रिंगटा लाग्ने हुन सक्छ । आकस्मिक गर्भ निरोधक चक्कीको प्रकार अनुसार यसको मात्रा लिनु पर्ने हुन्छ । आकस्मिक गर्भ निरोधक चक्कीले यौनजन्य सङ्क्रमण र एच.आई.भी. सर्नबाट जोगाउँदैन । यसलाई नियमित परिवार नियोजनको साधनका रूपमा प्रयोग गर्न न मिल्दैन ।

६. इम्प्लान्ट (Implant)

यो महिनावारीको पहिलो सात दिनभित्र यसलाई तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा महिलाको पाखुराको छालाभित्र घुसाएर राखिन्छ । यो गर्भ निरोधक साधन गर्भ धारण रोक्नका लागि धेरै सुरक्षित र भरपर्दो मानिन्छ । नेपालमा यो दुई प्रकारमा उपलब्ध छन्  १. जेडेल (पाँच वर्षलाई) २. इन्डोप्लान्ट (तिन वर्षलाई) ले गर्भ निरोधको काम गर्दछ । यो सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य चौकी तथा स्वास्थ्य चौकीसम्मको स्वास्थ्य संस्थामा निःशुल्क रूपमा उपलब्ध छ । यो साधनको राम्रो पक्ष भनेको फेरि प्रयोगकर्ता गर्भवती हुन चाहेमा तालिम प्राप्त स्वास्थ्यकर्मीका साहयताले यसलाई निकाल्न सकिन्छ । यसको प्रयोग गर्दा थोरै रगतको थोपा देखिने, (केही समयको लागि योनिबाट रगत आउन छाड्ने) हुन्छ । कहिले कही बढी रगत बग्ने, वजन बढ्ने वा घट्ने र टाउको दुख्ने समेत हुन सक्छ । यसले एच.आई.भी. र अन्य यौनजन्य सङ्क्रमणबाट जोगाउँदैन । यो लगाउन स्वास्थ्य संस्थामा नै जानु पर्छ । यो तालिम प्राप्त वा दक्ष स्वास्थ्यकर्मीले मात्र राख्नु पर्छ ।

७. आई.यु.सी.डी÷कपर टी (IUCD or Copper-T)

यसलाई तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा महिलाको योनिभित्र छिराएर पाठेघरको मुखसम्म पुर्याइन्छ । यो महिनावारीको १२ दिनभित्र राख्ने गरिन्छ । यो गर्भ निरोधक साधन धेरै सुरक्षित र भरपर्दो हुन्छ । यसको प्रयोगले १२ वर्षसम्म गर्भवती हुनबाट जोगाउछ । यो साधनको राम्रो पक्ष भनेको फेरि प्रयोगकर्ता गर्भवती हुन चाहेमा यो तालिम प्राप्त स्वास्थ्यकर्मीको सहायताले निकाल्न सकिन्छ । यो सरकारी क्षेत्रीय, अञ्चल अस्पताल, प्राथमिक स्वास्थ्य चौकी तथा प्रायशः स्वास्थ्य चौकीसम्मको स्वास्थ्य संस्थामा निःशुल्क रूपमा उपलब्ध छ । थोरै रगतको थोपा देखिने, एमेनोरिया (केही समयको लागि योनिबाट रगत आउन छाड्ने), लामो समयसम्म धेरै रगत बग्ने गरी महिनावारी हुने, महिनावारी नहुँदाको समयमा पनि रगत बग्ने वा देखिने जस्ता असर देखा पर्न सक्छ । यसले एच.आई.भी. र अन्य यौनजन्य सङ्क्रमणबाट जोगाउदैन । यो लगाउन स्वास्थ्य संस्थामा नै जानु पर्छ । यो तालिम प्राप्त वा दक्ष स्वास्थ्यकर्मीले मात्र लगाउन र निकाल्न सक्दछ ।

८. स्थायी बन्ध्याकरण (Permanent Family Planning Method)

जब महिला पुरुष दुबैले बच्चा नजन्माउने भनेर निर्णय लिन्छन् तब यो विधि अँगाल्न सकिन्छ । महिला स्थायी बन्ध्याकरण शल्यक्रियाद्धारा महिलाको अण्डबाहिनी नलीलाई बन्द गरि दिने प्रक्रिया हो । यसले महिनावारी प्रक्रियालाई असर पुर्याउदैन र यौन चाहनामा पनि कमी ल्याउँदैन । पुरुष स्थायी बन्ध्याकरण शल्यक्रियाद्धारा पुरुषको शुक्रकीट नली बन्द गरिदिने प्रक्रिया हो । यसले पुरुषको यौन इच्छामा असर पार्दैन र कमजोरी पनि ल्याउँदैन । शल्यक्रिया गरेको ठाउँमा (भित्री र बाहिरी) सङ्क्रमण हुन सक्ने, केही समय असजिलो र घाउमा दुख्ने हुन सक्छ । यसले यौनजन्य रोगहरूबाट बचाउँदैन । यसको असर भए नभएको हेर्न कम्तीमा ३ महिना कुर्नु पर्ने हुन्छ । उसको शल्यक्रिया तालिम प्राप्त स्वास्थ्यकर्मीबाट नै गराउनु पर्ने हुन्छ ।

यहाँ माथि उल्लिखित साधनहरूमध्ये आफूलाई मन परेका साधनहरूको सही छनोट र प्रयोग गर्न पाउनु तपाईंहरूको अधिकार हो । कन्डम मात्र एउटा यस्तो परिवार नियोजनको साधन हो जसले एकै समयमा दुई प्रकारको सुरक्षा गर्दछ । पहिला यसले गर्भ निरोधको काम गर्छ भने अर्को एच.आई.भी. लगायतका धेरैजसो यौनजन्य सङ्क्रमण हुनबाट पनि जोगाउँछ । त्यसैले कन्डमलाई साँच्चीकैको राम्रो र भरपर्दो साधनका रूपमा लिने गरिन्छ । प्रत्येक केटी वा महिलालाई आफूले कहिले र कति पटक गर्भ धारण गर्ने वा नगर्ने भनेर निर्णय लिन पाउने अधिकार छ । त्यसै गरी तपार्इंले परिवार नियोजनका साधनहरूबारेमा जानकारी लिन पाउनु र आफूले छानेको साधनको प्रयोग गर्न पाउनु तपाईंको अधिकार हो । तपाईंले आफ्ना आमाबाबु, पति, केटासाथी, सासू ससुराको अनुमतिविना नै आफूले चाहेको परिवार नियोजनका साधनहरूबारे जानकारी लिन पाउनु र आफूले रोजेको साधनको प्रयोग गर्न पाउनु तपाईंको अधिकार हो ।

तपाईंहरूले परिवार नियोजन र साधनबारेको जानकारी नजिकैको स्वास्थ्य संस्था वा किशोर किशोरी मैत्री सेवा क्लिनिकमा गई स्वास्थ्यकर्मी लगायत महिला स्वास्थ्य स्वयंसेविकाबाट प्राप्त गर्न सक्नु हुन्छ । तपाईंलाई परिवार नियोजन लगायत यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारीका साथै परिवार नियोजनका साधनहरू उपलब्ध गराउनु पनि स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरूको जिम्मेवारी एवम् कर्तव्यभित्र पर्दछ ।

तपाईं यौन सम्पर्क गर्दै हुनु हुन्छ तर गर्भ धारण गर्ने इच्छा छैन भने परिवार नियोजनका साधनको प्रयोग गर्नु होस् । तपार्इं र तपाईंको यौनसाथीका लागि उपयुक्त हुने कुनै एक साधन छनोट गर्नुहोस् ।

प्राकृतिक परिवार नियोजनको साधनले काम नगर्ने अवस्था

केही व्यक्तिहरुले गर्भ नरहोस् भन्नका लागि प्राकृतिक विधि पनि अपनाउने गर्दछन् । जस्तै; वीर्य बाहिर फ्याँक्ने विधिमा यौन सम्पर्क राख्दा केटा मान्छेले आफ्नो वीर्यलाई योनिभन्दा बाहिर फ्याक्दछ । यो चरम सुख प्राप्त भएपछि वीर्य लिङ्ग बाहिर निस्किनुअघि नै बाहिर फ्याकिन्छ तर यो विधि अपनाउँदा केटा मान्छेले आफूलाई नियन्त्रण गर्न र समयमा वीर्य बाहिर निकाल्न सकेनन् भने केटी गर्भवती हुने जोखिम बढ्छ । यस्तो विधि वा तरिका अपनाउँदा गर्भ धारण रोक्न सकिन्छ भन्ने ठोकुवा गर्न सकिदैन। त्यसै गरी क्यालेन्डर विधि पनि महिलाको महिनावारीमा भर पर्दछ । यदि कुनै महिलाको महिनावारी नियमित छैन भने क्यालेन्डर विधिले गर्भवती हुनबाट जोगाउँदैन । त्यसकारण यस्ता विधिहरू त्यति भरपर्दा नहुने हुँदा डाक्टरहरू लगायत यस विषयका विज्ञहरूले यस्ता प्रकारका विधिहरूलाई ठोकुवा साथ सिफारिस गरेको पाइँदैन । किशोर किशोरीलाई त झन् यो विधि सिफारिस गरिदैन किनकि किशोरावस्थामा यस विधिको प्रयोगबारे त्यति जानकारी नहुने र यसबारे उनीहरूले बुझ्न पनि नसक्ने भएकाले उनीहरूलाई परिवार नियोजनका साधनहरू, तिनमा पनि कन्डमलाई बढी प्राथमिकता दिइन्छ ।

सरकारी सूचना

स्थानीय युवा सझेदारी कार्यक्रम सञ्चालनमा

स्थानीय युवा सझ...

स्थानीय युवा सझेदारी कार्यक्रम सञ्चालनमा युवालाई आफ्नो मुलुक र समाजप्रति...

2.png
3.png
1.png