You are here: गृहपृष्‍ठसान्दर्भिक सुचनास्वास्थ्य प्रजनन् स्वास्थ र यौनिक शिक्षा

Download

प्रजनन र यौन स्वास्थ्य

प्रजनन स्वास्थ्य भनेको हरेक मानीसहरु शारिरीक, मानसीक तथा सामाजीक रुपमा नै प्रजनन प्रणली, यसको कार्य र प्रजनन प्रकृयाको सन्दर्भमा निरोगी हुनु हो । प्रजनन स्वास्थ्यले प्रजनन प्रणाली र प्रजनन अंगहरुको स्वास्थ्य साथै यौनसंग सम्वन्धित विषयहरुको बारेमा समेत कुरा गर्ने गर्दछ । साथै यौन तथा प्रजनन स्वास्थ्यको अधिकार हरेक ब्यक्तिको हुने भएकोले यहाँ युवाहरुको यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्वन्धी केहि विषयहरुमा प्रष्ट्याउने प्रयास गरिएको छ ।

यौन स्वास्थ्य

यौन स्वास्थ्य भन्नाले शारिरीक, मानसिक र सामाजिक रूपले यौनिकताका सन्दर्भमा हरेक पक्षबाट सक्षम भई जीवनको कल्याण हुने अवस्थाको सृजना गराउनु भन्ने बुझिन्छ । यसले यौनिकता र यौन सम्बन्धमा सकारात्मक र सम्मानजनक दृष्टिकोणको अपेक्षा राख्दछ । यसमा कुनै जबरजस्ती वा भेदभावविनाको हिंसा रहित आनन्ददायी तथा सुरक्षित यौन व्यवहारको अनुभूति गरिन्छ ।

किशोरावस्थाको प्रजनन स्वास्थ्य समस्या अन्य अवस्थाको भन्दा फरक हुन्छ । किशोरावस्थामा शारीरिक तथा मानसिक परिवर्तन तीव्र रूपमा हुने हुँदा किशोर किशोरीमा विभिन्न प्रकारको जिज्ञासा आउने गर्दछ । यति वेला पर्याप्त मात्रामा सही जानकारी भएन भने उनीहरूका जीवनमा धेरै असरहरू (जस्तै; यौनजन्य रोगहरु लाग्ने, बलात्कारतर्फ प्रवृत्त हुने, लागु पदार्थ दुव्र्यसनी बन्ने, पढाइमा कमजोर हुने आदि) पर्न सक्छन् । त्यसैले किशोरावस्थामा चिन्तित बनाउने र समस्या निम्त्याउन सक्ने केही जिज्ञासाहरूलाई समेत यहाँ उल्लेख गरिएको छ ।

 


 

किशोर अवस्थामा हुने परिवर्तनहरुः

केटाहरुमा हुने शारिरीक परिवर्तनहरुः शरिर हलक्क बढ्नु, हर्मोनहरुमा परिवर्तन हुनु, लिङ्ग, काखी छातीमा रौ पलाउनु, दारी जुगा आउनु, लिङग तथा अण्डकोषको बृद्धि हुनु, आवाजमा परिवर्तन हुनु, स्वप्नदोष हुनु, स्खलन हुनु, छाती चौडा हुनु ।

केटीहरुमा हुने शारिरीक परिवर्तनहरुः शरीर हलक्क बढ्नु, कम्मरमुनीको भाग बढ्नु र तिघ्रा सोली आकारको हुनु, हर्मोनमा परिवर्तन आउनु, योनी वरीपरी र काखीमुनी रौ आउनु, स्तन बढ्दै जानु, योनीको आकारमा बृद्धि हुनु, आवाज परिवर्तन भई सुरिलो हुदै जानु र महिनावारी हुनु ।

यो प्रकृया स्वभावीक हो । यस्तो परिवर्तनबाट स्वास्थ्यमा कुनै असर गर्दैन ।

हस्तमैथुन

हस्तमैथुन भनेको यौनाङ्गलाई मुसारेर वा घर्षण गरेर यौन आनन्द दिने ब्यवहार हो । यो कुने गलत काम होइन । यसो गर्नाले महिला वा पुरुषलाई कुनै हानी हुदैन । हस्तमैथुन महिला वा पुरुषले गोप्यताको साथ गर्न सक्छन् । यसले समाजमा हुने कैयौ अपराध समेत रोक्ने गर्छ । हस्तमैथुन कुनै कुनै समाजमा अब्यवहारीक तथा नराम्रो मान्ने गरिन्छ । नेपालमा भने यस सम्वन्धी कुनै कानुनहरु छैन ।

स्वप्नदोष

निदाएको बेलामा कामुक सपना देखी निदाएकै समयमा विना यौन सम्पर्क स्खलन हुने गर्दछ । यसैलाई स्वप्नदोष भनीन्छ । यो प्रकृया स्वत हुने गर्दछ । यो केटा केटी दुवैमा हुने गर्छ । पुरुषमा बिर्य बाहिर आउने भएकोले थाह हुन्छ भने महिलाको भने योनी भित्रै स्खलन हुने भएकोले थाह हुदैन । यो मानीसको स्वभावीक प्राकृतिक प्रकृया हो । यसले कुनै स्वास्थ्यमा प्रतिकुल असर गर्दैन । उमेर बढि हुदै जानेक्रममा यो क्रम विस्तारै कम हुदै जान्छ ।

 


 

महिनावारी

महिलाको योनिबाट महिनामा एक पटक रगत आउने गर्दछ । त्यसलाई हामी महिनावारी भएको भन्छौ । महिनावारी भनेको शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो । यो हाम्रो शरीरमा भएका रागरसहरू (Hormones) को मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ । महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो र महिनावारी हुनु भनेको एउटी केटी हरेक महिना गर्भवती हुन तयार हुने सङ्केत हो । यदि महिला महिनावारी भइन् भने पाठेघरले बनाएको रगतको तह विस्तारै योनिमार्ग हुदै रगतका रूपमा शरीरबाट बाहिर निस्कन्छ जुन रगतको रङ्ग गाढा रातो हुन्छ र कहिले कही ढिका जस्तो भएर जमेको रगतका रूपमा पनि बाहिर निस्कन्छ । पहिलो पटक महिनावारी सुरु हुने उमेर, प्रत्येक महिनाको महिनावारीबिचको अन्तर र महिनावारी बन्द हुने समय प्रत्येक महिलामा फरक फरक हुन्छ । धेरैजसो युवतीहरूमा पहिलो महिनावारी १२ देखि १४ वर्षको उमेरमा हुन्छ तर कुनै कुनै युवतीहरूमा छिटो ९ वर्षको उमेरमा नै र कुनै कुनैमा ढिलो १६ वर्षको उमेरमा महिनावारी भएको पनि पाइएको छ । यदि कुनै युवतीको पहिलो महिनावारी १६ वर्षमा मात्र भएको छ भने पनि यसलाई सामान्य नै मान्न सकिन्छ तर यदि महिनावारी हुनु पर्ने सामान्य वर्षभन्दा ढिला भएमा डाक्टर वा स्वास्थ्यकर्मीसंग सल्लाह सुझाब सहित उपचार सेवा लिन सकिन्छ ।

महिनावारी प्रक्रियाको समयमा

  •  महिलाको योनिबाट महिनामा एक पटक रगत आउने गर्दछ ।
  • महिनावारीको एक पुरा चक्र औसतमा २८ दिनको हुन्छ । एक पटकको महिनावारीबाट अर्को पटकको महिनावारी हुने समय कसैमा लामो त कसैमा छोटो हुन्छ । त्यस्तो अवस्थामा तपाईंले चिन्ता लिनु पर्दैन किनकि त्यसलाई सामान्य नै मानिन्छ । त्यसै गरी तपाईंको महिनावारी २१ दिन वा ३५ दिनमा भए पनि त्यसलाई सामान्य नै मान्न सकिन्छ ।
  • धेरै युवतीहरूमा पहिलो पटक महिनावारी हुँदा, पहिलो वर्षमा महिनावारी अनियमित हुन्छ (केही महिनाका लागि महिनावारी रोकिनु वा अर्को महिनावारी हुने समय लम्बिनु)।
  • नियमित महिनावारी भएमा रगत आउने औसत समय करिब ५७ दिनसम्मको हुन्छ ।
  • प्रायः पहिलो र दोस्रो दिनमा बढी रगत बग्छ ।
  • धेरै केटीहरूको महिनावारी सुरु हुनु ठिक अघि र महिनावारी भएकै वेलाको पहिलो दिन अलि बढी तल्लो पेट दुख्छ ।
  • महिनावारी सुरु हुनु करिब १२ देखि १६ दिनअघि डिम्बाशयबाट एउटा डिम्ब निस्कन्छ । यसलाई अङ्ग्रजीमा ovulation भनिन्छ । महिलालाको डिम्बाशयमा धेरै डिम्बहरू रहेका हुन्छन् र उक्त डिम्ब उत्पादनको क्रममा केही महिलालाई पेटको वरिपरि दुखेको अनुभव हुन्छ ।
  • हरेक महिना परिपक्व डिम्ब डिम्बाशयबाट निस्केर डिम्ब बाहिनी नली हुदै पाठेघरसम्म आउछ । उक्त समयमा असुरक्षित यौन सम्पर्क भएमा र योनिभित्र नै वीर्य खसालेमा डिम्बलाई शुक्रकीटले निषेचित गर्न सक्छ र निषेचित भएमा महिला गर्भवती हुन्छिन् । यदि डिम्बको शुक्रकीटसंग मिलन भएन भने बच्चा हुर्काउनका लागि पाठेघरमा बन्दै गइरहेको उपयुक्त वातावरण प्रक्रिया आवश्यक पर्ने रागरसहरू (Hormones) को वृद्धि जसका कारणले पाठेघरको भित्तामा बनिरहेको रगतको तह रोकिन्छ र नियमित महिनावारी प्रक्रिया सुरु हुन्छ ।
  • महिनावारी करिब ४५ वर्षको उमेरसम्म रहन्छ । यही उमेरका हाराहारीमा महिलाको महिनावारी रोकिन सुरु हुन थाल्छ र त्यसपछि महिला गर्भवती हुन सक्दिनन् ।

महिनावारी रोकिएमा

यदि तपार्इं असुरक्षित यौन सम्पर्कमा संलग्न हुनु भएको छ भने तपाईं गर्भवती भएको हुन सक्नु हुन्छ । जसको कारण तपाईंको महिनावारी रोकिएको हुन सक्छ । त्यसकारण त्यस्तो अवस्थामा तपाईंले नजिकैको औषधी पसल तथा स्वास्थ्य संस्थामा गई सामान्य गर्भवती जाँच गराउन सक्नु हुन्छ । महिलाहरूको शरीर संवेदनशील हुने हुदा धेरै चिन्ता, तनाब वा धेरै भ्रमण गर्नु पर्ने अवस्थामा तथा धेरै बिरामी भएमा पनि तपाईंको महिनावारी केही हप्ता अगाडि पछाडि हुन सक्छ । प्रायशः केटी महिलाहरूमा नियमित (कसैको एक हप्ता अगाडि त कसैको एक हप्ता पछाडि) महिनावारी हुन्छ नै भन्ने छैन। त्यसैले आफू कुन मितिमा महिनावारी भइयो भनेर थाहा पाइ राख्न र महिनावारी किन भएन भनी चिन्तामा बस्न नपरोस् भन्ने हेतुले तपाईंले आफ्नो महिनावारीको मिति क्यालेन्डरमा वा डायरीमा लेखि राख्नु राम्रो हुन्छ ।

महिनावारी हुदा किन तल्लो पेट र ढाड दुख्छ

महिनावारी हुँदा तल्लो पेट र ढाड दुख्नु सामान्य नै मानिन्छ । महिनावारी हुनुभन्दा केही दिन पहिले शरीरमा भएको रागरस (Hormones) को मात्रामा परिवर्तन आउने गर्दछ । यस्तो रागरसको सहयोगले बच्चा हुर्कनका लागि पाठेघरको भित्र उपयुक्त वातावरण बनिरहेको हुन्छ । यस प्रक्रियाका कारणले पनि तल्लो पेट र ढाड दुख्ने गर्दछ । यदि पाठेघरले निषेचित डिम्ब प्राप्त गरेन भने त्यो निर्माण भएको रगतको तह विस्तारै रगतका रूपमा योनिमार्ग हुदै बाहिर निस्कन्छ र यस बेला पाठेघर खुम्चिने र फुक्ने हुदा यस्तो प्रकारको दुखाइ हुने गर्दछ । यही रागरसको (Hormones) परिवर्तनले गर्दा महिनावारी हुनुअघि कब्जियत हुने, स्तन कडा हुने अनि दुख्ने र थकाइ लाग्ने तथा कसै कसैलाई डन्डीफोर आउने जस्ता लक्षणहरू पनि देखा पर्दछन् ।

महिनावारी हुदा पेट दुखेमा

घरेलु तरिका अपनाएर पनि हामीले महिनावारी हुदा पेट दुख्ने समस्यालाई समाधान गर्न सक्छौ । रुमाल वा आधा मिटर जति सुतीको कपडाको टुक्रालाई तातो पानीमा भिजाएर र पेटको वरिपरि सेकाउन सकिन्छ । त्यसै गरी तातो पानीलाई रबडको थैली (Hot bag) मा राखेर दुखेका ठाउमा विस्तारै सेक्न पनि सकिन्छ । रबडको थैली नभएका खण्डमा सिसी (Bottle) मा तातो पानी राखी दुखेका ठाउमा सेक्न सकिन्छ । त्यसै गरी दुखेका ठाउमा विस्तारै हलुका मालिस गर्नाले पनि दुखाइ कम हुन्छ । यस्तो बेला जति सक्दो तातो पानी, चिया र सुपका साथै अन्य गेडागुडीको झोल, हरियो सागसब्जी खानु पर्छ जसले शरीरलाई कमजोर हुन दिदैन । हलुका व्यायाम गर्नाले पनि दुखाइ कम हुन्छ । धेरै रगत बगेमा र सहन नसक्ने गरी पेट दुखेमा स्वास्थ्य चौकी जान ढिलाइ गर्नु हुदैन । माथि उल्लिखित लक्षणहरू महिनावारी हुने बेला देखिनु सामान्य नै हो । त्यसैले चिन्ता गर्नु वा डराउनु पर्दैन ।

महिनावारी हुदाँ यौन सम्पर्क

महिनावारी हुदा यौन सम्पर्क राख्ने नराख्ने भन्ने कुरा व्यक्तिको इच्छा र निर्णयमा भर पर्छ तर वैज्ञानिक रूपले महिनावारी हुदा यौन सम्पर्क राख्नु सुरक्षित छ र यो कुनै फोहोर चिज पनि होइन । एक स्वस्थ केटी÷महिलासंग महिनावारी भएको बेला यौन सम्पर्क राख्नाले लिङ्गमा कुनै प्रकारको सङ्क्रमण वा एलर्जी हुदैन भने महिलाको पाठेघर वा अन्य यौन अङ्गलाई पनि कुनै असर पर्दैन । तर महिलालाई एच.आई.भी. तथा यौनजन्य सङ्क्रमण भएको छ भने उसको यौन साथीलाई एच.आई.भी. तथा यौनजन्य सङ्क्रमण हुने सम्भावना भने यति वेला अन्य सामान्य अवस्थामा भन्दा धेरै हुन्छ ।

महिनावारीको वेला असुरक्षित यौन सम्पर्क (परिवारनियोजनका साधन प्रयोग नगरी) गरेमा गर्भ रहने सम्भावना धेरै कम हुन्छ किनकि डिम्ब निस्केर शुक्रकीटसंग भेट नभएपछि डिम्ब मात्र पाठेघरमा आउछ र त्यति वेला बाक्लो भइ रहेको पाठेघरको भित्री तहको पनि काम हुदैन । सोही कारण डिम्ब सहित त्यो बाक्लिएको तह रगतका रूपमा बाहिर आउछ । त्यही नै महिनावारी हो । त्यसैले यति वेला शुक्रकीटको मिलन डिम्बसंग नहुने हुनाले गर्भ रहने कुरै हुदैन । तर यदि कसैको महिनावारी छिटो छिटो जस्तै; २० दिनमा नै हुन्छ भने महिनावारी भएको ४ ५ दिनमा यौन सम्पर्क राख्नाले महिला गर्भवती हुन सक्छे । त्यसैले आफू सुरक्षित हुनका लागि सधै कन्डमको प्रयोग गर्नु निकै आवश्यक छ । यसले गर्भ निरोधकको काम गर्नाका साथै यौनजन्य रोगहरू सर्नबाट पनि जोगाउछ ।


परिवार नियोजनका साधनहरू

केटी र केटाबिच असुरक्षित यौन सम्पर्क (परिवार नियोजनको साधन प्रयोग नगरीकनै) भयो र योनिभित्र नै वीर्य खसालेमा गर्भ धारण हुने सम्भावना एकदमै बढी हुन्छ । केटाको लिङ्गबाट निस्केको शुक्रकीट योनिमार्ग हुदै डिम्ब बाहिनी नलीसम्म पुग्छ र डिम्ब पनि डिम्बाशयबाट निक्लेर त्यही नलीमा आइ पुग्छ र दुबै (शुक्रकीट र डिम्ब) को मिलन हुन्छ । त्यस पश्चात् निषेचित डिम्ब पाठेघरमा भ्रूणकारूपमा आउछ, र उक्त भ्रूण बच्चाका रूपमा विकसित हुन थाल्छ । नौ महिनासम्म उक्त भू्रणलाई बच्चाका रूपमा विकसित गर्नका लागि आवश्यक पर्ने वातावरण पाठेघरले प्रदान गर्दछ । हामीले ध्यान दिनु पर्ने कुरा के छ भने यौन सम्पर्क गर्नु पहिले नै परिवार नियोजनका साधनका बारेमा छलफल गर्नुपर्छ, । एक महिनाको महिनावारी प्रक्रियामा केही समय सुरक्षित समय पनि हुन्छ जुन वेला गर्भ धारण हुने सम्भावना कम हुन्छ तर यो मात्र त्यस्तो व्यक्तिमा लागु हुन्छ जसको महिनावारी नियमित र सही समयमा हुन्छ । थप ध्यान दिनु पर्ने कुरा के छ भने पहिलो महिनावारी हुनुभन्दा केही समयअघि पनि गर्भवती हुन सक्ने सम्भावना रहन्छ । त्यसकारण गर्भवती नभइयोस् भन्नका लागि परिवार नियोजनका साधनको अनिवार्य रूपमा प्रयोग गर्नु आवश्यक छ ।

मानिसको शरीरमा मसिनो धागो जस्तो जैविक (बंशाणुगत) गुणहरू निर्धारण गर्ने २३ जोर क्रोमोजोमहरू रहेका हुन्छन् भन्ने सायद तपाईंहरूले जैविक विज्ञानमा पढ्नु भयो होला । यसमध्ये २३ औ क्रोमोजोमले (XY) भने लिङ्ग (छोरा वा छोरी) निर्धारण गर्दछ । जैविकविद् (biologist)ले पत्ता लगाए अनुसार यस्ता क्रोमोजोम महिलामा XX र पुरुषमा XY हुन्छन् । यौन सम्पर्कको वेला जब पुरुषले महिलाको योनिमा वीर्य खसाल्दछ त्यति वेला धेरै शुक्रकीटहरू पनि झर्ने गर्दछन् । त्यति वेला डिम्ब र शुक्रकीटको मिलन हुने वेलामा यदि महिलाका तर्फबाट X र पुरुषका तर्फबाट Y आएमा छोरा हुन्छ भने पुरुषका तर्फबाट X नै आयो भने चाहि छोरी हुन्छे । त्यसैले बच्चाको लिङ्ग निर्धारण एउटा व्यक्तिले चाहेर हुदैन किनकि यो डिम्ब र शुक्रकीटको मिलन हुदा कुन चाहि क्रोमोजोमको मिलन भएको छ त्यसको आधारमा (छोरा वा छोरी) हुन्छ ।

नेपालमा उपलब्ध सुरक्षित तथा निःशुल्क परिवार नियोजनका साधनहरू

१. पुरुषले प्रयोग गर्ने कण्डम (Condom)

कन्डम पुरुषको उत्तेजित लिङ्गमा लगाउने परिवार नियोजनको साधन हो । कन्डम मात्र एउटा यस्तो साधन हो जसले गर्भवती हुन र यौनजन्य सङ्क्रमण जस्तै; एच.आई.भी. र धेरै यौनरोगहरू सर्नबाट रोक्दछ । त्यसैले कन्डमले मात्र दुई प्रकारको सुरक्षा एकैसाथ गर्न सक्दछ भन्ने बुझ्ने छन् । साधारणतया यो सजिलै पाउन सकिन्छ र यो एक पल्ट लगाएपछि फेरि दोहोर्याएर प्रयोग गर्न मिल्दैन र तपाईंले कन्डमको सही प्रयोग कसरी गर्ने भन्ने जान्नु भयो भने तपाईंलाई कुनै स्वास्थ्यकर्मीको आवश्यकता पर्दैन । पुरुष कन्डम बजारमा सजिलै प्राप्त गर्न सकिन्छ । यो हरेक औषधी पसल लगायत खुद्रा दोकानहरूमा थोरै पैसामा पनि किन्न सकिन्छ भने सरकारी स्वास्थ्य चौकीहरूमा निःशुल्क प्राप्त गर्न सकिन्छ । त्यसै गरी महिला स्वास्थ्य स्वयंसेविकाहरू बाट पनि कन्डम प्राप्त गर्न सकिन्छ । दम्पतीले बच्चा जन्माउन चाहेमा यसको प्रयोग गर्न छाड्ने बित्तिकै बच्चा उत्पादन गर्न सकिन्छ । कन्डममा कुनै हर्मोन नहुने हुदा यसले शरीरमा कुनै असर पार्दैन ।

२. महिलाले प्रयोग गर्ने कण्डम (Femidom)

महिलाको योनिभित्र छिराएर राख्ने परिवार नियोजनको साधनमध्ये एक महिला कण्डम हो । महिला कन्डमले पनि पुरुष कन्डमले जस्तै गर्भवती हुन रोक्नका साथै यौनजन्य रोगहरूबाट र एच.आई.भी. सङ्क्रमण हुनबाट बचाउदछ । दम्पतीले बच्चा जन्माउन चाहेमा यसको प्रयोग गर्न छाड्ने बित्तिकै बच्चा उत्पादन गर्न सकिन्छ । यस कन्डममा कुनै हर्मोन नहुने हुदा यसले शरीरमा कुनै असर पार्दैन । नेपालमा महिला कन्डम निजी औषधी पसलहरूमा मात्र उपलब्ध छ । बजारमा महिला कन्डम फेमिडोम, भीअमोर ब्रान्डमा उपलब्ध छ ।

३. गर्भ निरोधक चक्की (Oral Contraceptive Pills)

महिनावारी भएको ५ दिनमा महिलाले खाने चक्की नै गर्भ निरोधक चक्की हो । यो चक्की बिहान अथवा बेलुकी एउटै समयमा दैनिक एक चक्की खाने गर्नु पर्छ । गर्भ निरोधक खाने चक्कीलाई धेरै प्रभावकारी परिवार नियोजनका साधनका रूपमा लिइन्छ । यो सजिलै प्राप्त गर्न सकिन्छ । यो हरेक औषधी पसलमा थोरै मूल्यमा पनि किन्न सकिन्छ भने सरकारी स्वास्थ्य चौकीहरूमा निःशुल्क प्राप्त गर्न सकिन्छ । त्यसै गरी महिला स्वास्थ्य स्वयंसेविकाहरू बाट पनि प्राप्त गर्न सकिन्छ । दम्पतीले बच्चा जन्माउन चाहेमा यसको प्रयोग गर्न छाड्ने बित्तिकै बच्चा उत्पादन गर्न सकिन्छ । यसको प्रयोगले केही महिलाहरूमा बान्ता आउला जस्तो हुने, टाउको दुख्ने, बढी रक्तस्राव हुने वा वजन बढ्ने जस्तो प्रभाव देखिन्छ । गर्भ निरोधक खाने चक्कीको प्रयोगले यौनरोग तथा एच.आई.भी. सङ्क्रमण हुनबाट जोगाउदैन । एउटै समय पारेर नबिराई खायो भने मात्र यो प्रभावकारी हुन्छ । कसै कसैलाई यो चक्की खाने बित्तिकै बान्ता हुने वा पखाला लाग्ने हुदा यसको प्रभावकारितामा कमी आउन सक्छ त्यसैले यस्तो अवस्थामा कन्डमको प्रयोग गर्नु उपयुक्त हुन्छ ।

४. गर्भ निरोधक सुई (Injection)

यो महिलाको पाखुरा वा नितम्बमा लगाइन्छ । महिनावारी चक्रको सात दिनभित्र यो सुई लगाइन्छ । यो एक चोटी लगाउँदा यसले तिन महिनासम्म गर्भवती हुनबाट जोगाउँछ । यो सरकारी स्वास्थ्य चौकीहरूमा निःशुल्क उपलब्ध छ र औषधी पसलहरूमा थोरै मुल्यमा लगाउन पाइन्छ । यसले पाचनमा परिवर्तन आउन सक्छ साथै वजनमा परिवर्तन (बढ्न वा घट्न सक्छ) । महिनावारी नहुँदा पनि रगत देखिन सक्छ । रिंगटा लाग्ने वाकवाक आउला जस्तो हुने पनि हुन सक्छ । यसले एच.आई.भी. र अन्य यौनजन्य सङ्क्रमणबाट जोगाउँदैन । यो प्रत्येक तिन महिनामा तालिम प्राप्त स्वास्थ्यकर्मीबाट मात्र लगाउनु पर्छ ।

५. आकस्मिक गर्भ निरोधक खाने चक्की (Emergency Contraceptive Pill)

विशेष गरी कन्डम प्रयोग गर्दा फुटेर गर्भ धारणको जोखिम बढेमा वा जोडीले असुरक्षित यौन सम्पर्क (गर्भ निरोधक साधनको प्रयोग विना) गरेमा यसको प्रयोग गर्न सकिन्छ । असुरक्षित यौन सम्पर्क भए पश्चात् जति सक्यो छिटो (बढीमा १२० घण्टासम्ममा) यसको सेवन गरी नचाहेको गर्भ धारणबाट महिलाले आफूलाई जोगाउन सक्दछन् । आकस्मिक गर्भ निरोधक चक्की स्वास्थ्य चौकीहरूमा निःशुल्क प्राप्त गर्न सकिन्छ भने औषधी पसलहरूमा थौरै मूल्यमा किन्न सकिन्छ । यो चक्की खाएको एक दुई दिनपछि अनियमित रूपमा हल्का रक्तस्राव हुने, महिनावारी हुनुभन्दा पहिल्यै रगत देखा पर्ने हुन सक्छ, चक्की खाएको (एक हप्तापछि) वाकवाक लाग्ने, पेट दुख्ने, टाउको दुख्ने, रिंगटा लाग्ने हुन सक्छ । आकस्मिक गर्भ निरोधक चक्कीको प्रकार अनुसार यसको मात्रा लिनु पर्ने हुन्छ । आकस्मिक गर्भ निरोधक चक्कीले यौनजन्य सङ्क्रमण र एच.आई.भी. सर्नबाट जोगाउँदैन । यसलाई नियमित परिवार नियोजनको साधनका रूपमा प्रयोग गर्न न मिल्दैन ।

६. इम्प्लान्ट (Implant)

यो महिनावारीको पहिलो सात दिनभित्र यसलाई तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा महिलाको पाखुराको छालाभित्र घुसाएर राखिन्छ । यो गर्भ निरोधक साधन गर्भ धारण रोक्नका लागि धेरै सुरक्षित र भरपर्दो मानिन्छ । नेपालमा यो दुई प्रकारमा उपलब्ध छन्  १. जेडेल (पाँच वर्षलाई) २. इन्डोप्लान्ट (तिन वर्षलाई) ले गर्भ निरोधको काम गर्दछ । यो सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य चौकी तथा स्वास्थ्य चौकीसम्मको स्वास्थ्य संस्थामा निःशुल्क रूपमा उपलब्ध छ । यो साधनको राम्रो पक्ष भनेको फेरि प्रयोगकर्ता गर्भवती हुन चाहेमा तालिम प्राप्त स्वास्थ्यकर्मीका साहयताले यसलाई निकाल्न सकिन्छ । यसको प्रयोग गर्दा थोरै रगतको थोपा देखिने, (केही समयको लागि योनिबाट रगत आउन छाड्ने) हुन्छ । कहिले कही बढी रगत बग्ने, वजन बढ्ने वा घट्ने र टाउको दुख्ने समेत हुन सक्छ । यसले एच.आई.भी. र अन्य यौनजन्य सङ्क्रमणबाट जोगाउँदैन । यो लगाउन स्वास्थ्य संस्थामा नै जानु पर्छ । यो तालिम प्राप्त वा दक्ष स्वास्थ्यकर्मीले मात्र राख्नु पर्छ ।

७. आई.यु.सी.डी÷कपर टी (IUCD or Copper-T)

यसलाई तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा महिलाको योनिभित्र छिराएर पाठेघरको मुखसम्म पुर्याइन्छ । यो महिनावारीको १२ दिनभित्र राख्ने गरिन्छ । यो गर्भ निरोधक साधन धेरै सुरक्षित र भरपर्दो हुन्छ । यसको प्रयोगले १२ वर्षसम्म गर्भवती हुनबाट जोगाउछ । यो साधनको राम्रो पक्ष भनेको फेरि प्रयोगकर्ता गर्भवती हुन चाहेमा यो तालिम प्राप्त स्वास्थ्यकर्मीको सहायताले निकाल्न सकिन्छ । यो सरकारी क्षेत्रीय, अञ्चल अस्पताल, प्राथमिक स्वास्थ्य चौकी तथा प्रायशः स्वास्थ्य चौकीसम्मको स्वास्थ्य संस्थामा निःशुल्क रूपमा उपलब्ध छ । थोरै रगतको थोपा देखिने, एमेनोरिया (केही समयको लागि योनिबाट रगत आउन छाड्ने), लामो समयसम्म धेरै रगत बग्ने गरी महिनावारी हुने, महिनावारी नहुँदाको समयमा पनि रगत बग्ने वा देखिने जस्ता असर देखा पर्न सक्छ । यसले एच.आई.भी. र अन्य यौनजन्य सङ्क्रमणबाट जोगाउदैन । यो लगाउन स्वास्थ्य संस्थामा नै जानु पर्छ । यो तालिम प्राप्त वा दक्ष स्वास्थ्यकर्मीले मात्र लगाउन र निकाल्न सक्दछ ।

८. स्थायी बन्ध्याकरण (Permanent Family Planning Method)

जब महिला पुरुष दुबैले बच्चा नजन्माउने भनेर निर्णय लिन्छन् तब यो विधि अँगाल्न सकिन्छ । महिला स्थायी बन्ध्याकरण शल्यक्रियाद्धारा महिलाको अण्डबाहिनी नलीलाई बन्द गरि दिने प्रक्रिया हो । यसले महिनावारी प्रक्रियालाई असर पुर्याउदैन र यौन चाहनामा पनि कमी ल्याउँदैन । पुरुष स्थायी बन्ध्याकरण शल्यक्रियाद्धारा पुरुषको शुक्रकीट नली बन्द गरिदिने प्रक्रिया हो । यसले पुरुषको यौन इच्छामा असर पार्दैन र कमजोरी पनि ल्याउँदैन । शल्यक्रिया गरेको ठाउँमा (भित्री र बाहिरी) सङ्क्रमण हुन सक्ने, केही समय असजिलो र घाउमा दुख्ने हुन सक्छ । यसले यौनजन्य रोगहरूबाट बचाउँदैन । यसको असर भए नभएको हेर्न कम्तीमा ३ महिना कुर्नु पर्ने हुन्छ । उसको शल्यक्रिया तालिम प्राप्त स्वास्थ्यकर्मीबाट नै गराउनु पर्ने हुन्छ ।

यहाँ माथि उल्लिखित साधनहरूमध्ये आफूलाई मन परेका साधनहरूको सही छनोट र प्रयोग गर्न पाउनु तपाईंहरूको अधिकार हो । कन्डम मात्र एउटा यस्तो परिवार नियोजनको साधन हो जसले एकै समयमा दुई प्रकारको सुरक्षा गर्दछ । पहिला यसले गर्भ निरोधको काम गर्छ भने अर्को एच.आई.भी. लगायतका धेरैजसो यौनजन्य सङ्क्रमण हुनबाट पनि जोगाउँछ । त्यसैले कन्डमलाई साँच्चीकैको राम्रो र भरपर्दो साधनका रूपमा लिने गरिन्छ । प्रत्येक केटी वा महिलालाई आफूले कहिले र कति पटक गर्भ धारण गर्ने वा नगर्ने भनेर निर्णय लिन पाउने अधिकार छ । त्यसै गरी तपार्इंले परिवार नियोजनका साधनहरूबारेमा जानकारी लिन पाउनु र आफूले छानेको साधनको प्रयोग गर्न पाउनु तपाईंको अधिकार हो । तपाईंले आफ्ना आमाबाबु, पति, केटासाथी, सासू ससुराको अनुमतिविना नै आफूले चाहेको परिवार नियोजनका साधनहरूबारे जानकारी लिन पाउनु र आफूले रोजेको साधनको प्रयोग गर्न पाउनु तपाईंको अधिकार हो ।

तपाईंहरूले परिवार नियोजन र साधनबारेको जानकारी नजिकैको स्वास्थ्य संस्था वा किशोर किशोरी मैत्री सेवा क्लिनिकमा गई स्वास्थ्यकर्मी लगायत महिला स्वास्थ्य स्वयंसेविकाबाट प्राप्त गर्न सक्नु हुन्छ । तपाईंलाई परिवार नियोजन लगायत यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारीका साथै परिवार नियोजनका साधनहरू उपलब्ध गराउनु पनि स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरूको जिम्मेवारी एवम् कर्तव्यभित्र पर्दछ ।

तपाईं यौन सम्पर्क गर्दै हुनु हुन्छ तर गर्भ धारण गर्ने इच्छा छैन भने परिवार नियोजनका साधनको प्रयोग गर्नु होस् । तपार्इं र तपाईंको यौनसाथीका लागि उपयुक्त हुने कुनै एक साधन छनोट गर्नुहोस् ।

प्राकृतिक परिवार नियोजनको साधनले काम नगर्ने अवस्था

केही व्यक्तिहरुले गर्भ नरहोस् भन्नका लागि प्राकृतिक विधि पनि अपनाउने गर्दछन् । जस्तै; वीर्य बाहिर फ्याँक्ने विधिमा यौन सम्पर्क राख्दा केटा मान्छेले आफ्नो वीर्यलाई योनिभन्दा बाहिर फ्याक्दछ । यो चरम सुख प्राप्त भएपछि वीर्य लिङ्ग बाहिर निस्किनुअघि नै बाहिर फ्याकिन्छ तर यो विधि अपनाउँदा केटा मान्छेले आफूलाई नियन्त्रण गर्न र समयमा वीर्य बाहिर निकाल्न सकेनन् भने केटी गर्भवती हुने जोखिम बढ्छ । यस्तो विधि वा तरिका अपनाउँदा गर्भ धारण रोक्न सकिन्छ भन्ने ठोकुवा गर्न सकिदैन। त्यसै गरी क्यालेन्डर विधि पनि महिलाको महिनावारीमा भर पर्दछ । यदि कुनै महिलाको महिनावारी नियमित छैन भने क्यालेन्डर विधिले गर्भवती हुनबाट जोगाउँदैन । त्यसकारण यस्ता विधिहरू त्यति भरपर्दा नहुने हुँदा डाक्टरहरू लगायत यस विषयका विज्ञहरूले यस्ता प्रकारका विधिहरूलाई ठोकुवा साथ सिफारिस गरेको पाइँदैन । किशोर किशोरीलाई त झन् यो विधि सिफारिस गरिदैन किनकि किशोरावस्थामा यस विधिको प्रयोगबारे त्यति जानकारी नहुने र यसबारे उनीहरूले बुझ्न पनि नसक्ने भएकाले उनीहरूलाई परिवार नियोजनका साधनहरू, तिनमा पनि कन्डमलाई बढी प्राथमिकता दिइन्छ ।


यौनजन्य संक्रमण

यौनजन्य संक्रमण (Sexually Transmitted Infections - STIs) भनेको असुरक्षित यौन सम्पर्क (कन्डम नलगाई गरिने सम्पर्क) का माध्यमबाट हुने संक्रमण हो । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा असुरक्षित यौन सम्पर्क हुँदा वीर्य, योनिरस र रगतका माध्यमबाट सर्ने गर्दछ । यौनरोग धेरै प्रकारका हुन्छन् तर तीमध्ये क्ल्यामादिया (Chlamydia), भिरिङ्गी (Syphilis), धातु (Gonorrhea) आदि प्रमुख मानिन्छन् । वेलैमा सही उपचार पाएमा धेरैजसो यौनरोगहरु निको हुन्छन् । त्यसैले निको हुने त्यस्ता यौनरोगहरूको वेलैमा पहिचान गरी उपचार गराउनु निकै आवश्यक हुन्छ । यी प्रमुख यौनरोगहरूको छोटकरीमा जानकारी यस प्रकार रहेको छ ।

१. क्ल्यामादिया (Chlamydia)

क्ल्यामादिया जीवाणु (bacteria) का कारणले हुने यौनरोग हो । यो यौनरोग सङ्क्रमित ब्यक्तिबाट असुरक्षित योनि, मुख र मलद्वारको यौन सम्पर्कबाट सर्दछ र गर्भवती आमाबाट गर्भको बच्चामा पनि सर्ने गर्दछ ।

यसको लक्षणहरूः ७५ प्रतिशत व्यक्तिहरूमा क्ल्यामादियाको कुनै लक्षण देखिदैन तथापि महिलाहरूमा योनिबाट सेतो पानी बग्नु, योनिका वरिपरि चिलाउनु, पिसाब गर्दा पोल्नु, यौन सम्पर्क गर्दा योनिको भित्री भाग दुख्नु तथा तल्लो पेट दुख्नु जस्ता लक्षणहरू देखिन्छन् भने पुरुषमा चाहि लिङ्गबाट सेतो तरल पदार्थ निक्लनु, लिङ्गका टुप्पामा चिलाउनुका साथै पोल्नु, अण्डकोष दुख्नु, तारन्तार पिसाब लागि रहनु र पिसाब फेर्दा पोल्नु जस्ता लक्षणहरू देखिन्छन् ।

समयमै यसको उपचार नगराएमा पछि निकै नहुने अवस्था, बाँझोपन र मृत्यु पनि हुन सक्छ ।

२. भिरिङ्गी (Syphilis)

भिरिङ्गी जीवाणु (bacteria) का कारणले हुने यौनरोग हो । यो यौनरोग सङ्क्रमित ब्यक्तिबाट असुरक्षित योनि, मुख र मलद्वारको यौन सम्पर्कबाट सर्छ ।

यसको लक्षणहरूः कहिले कही भिरिङ्गीका लक्षणहरू ब्यक्तिमा बर्सौंसम्म नदेखिन पनि सक्छन् । भिरिङ्गीका लक्षणहरू देखिएमा शरीरभरि डाबर आउने, लिङ्ग, मलद्धार, भगोष्ठ (योनिको बाहिरी भाग), पाठेघरको मुख, घाँटी अनि ओठका वरिपरि नदुख्नेखाले घाउ खटिरा आउने, कपाल झर्ने, टाउको दुख्ने र तौल कम हुने हुन सक्छ ।

समयमै यसको उपचार नभएमा यसले आँखा, दिमाग, नसा, मुटु, हाड तथा जोर्नीहरूमा असर पार्छ र शरीरका अन्य प्रणालीहरू नै खराब पार्न सक्छ। साथै भिरिङ्गी भएकी आमाले बच्चा जन्माएमा बच्चा अन्धो वा सुस्त मनस्थितिको जन्मने सम्भावना रहन्छ भने कहिले कही मृत्यु नै पनि हुन सक्छ ।

३. धातु (Gonorrhea)

धातु जीवाणु (bacteria) का कारणले हुने यौनरोग हो । यो यौनरोग पनि सङ्क्रमित ब्यक्तिबाट असुरक्षित योनि, मुख, मलद्वारको यौन सम्पर्कबाट सर्छ ।

यसको लक्षणहरुः धातुको पनि लक्षण देखिदैन र यदि देखियो भने योनिबाट अस्वाभाविक रूपले सेतो पानी बग्नु, योनिका वरिपरि चिलाउनु, पिसाब गर्दा पोल्नु, यौन सम्पर्क गर्दा योनिको भित्री भाग दुख्नुका साथै रगत आउनु, योनि रातो भई सुन्निनु, महिनावारीको समयभन्दा अगाडि नै रगत बग्नु र तल्लो पेट दुख्नु जस्ता लक्षणहरू देखिन्छन् भने पुरुषमा धातुको लक्षण देखिएमा लिङ्गबाट बाक्लो र सेतो तरल पदार्थ निक्लनु, लिङ्गका टुप्पामा चिलाउनुका साथै पोल्नु, अण्डकोष दुख्नु, तारन्तार पिसाब लागि रहनु र पिसाब फेर्दा पोल्नु जस्ता लक्षणहरू देखिन्छन् ।

समयमै यसको उपचार नभएमा महिलाहरूमा पी.आई.डी. (Pelvic Inflamatory Disease) हुन सक्छ जसले गर्दा बाँझोपन हुने तथा मुत्यु नै हुने अवस्था पनि आउन सक्छ। त्यसै गरी पुरुषहरुमा धातु छ र उपचार गराउन ढिलो भयो भने इपिडिडिमाटिज (epididymitis) अण्डकोषसँग जोडिएको नलीमा नराम्रो सङ्क्रमण हुन्छ जसले गर्दा बाँझोपन समेत हुन सक्ने हुन्छ भने मूत्रमार्गमा नराम्रो सङ्क्रमण हुँदा पिसाब फेर्न नसक्ने जस्तो गम्भीर समस्या देखा पर्दछ ।


यौनजन्य सङ्क्रमणका लक्षणहरू

यौनजन्य सङ्क्रमण र रोगहरु धेरै छन् र धेरैजसो यौनजन्य सङ्क्रमण वा रोगका मुख्य लक्षणहरू उस्तै हुन्छन् जुन यस प्रकार रहेका छन्ः

  • यौनाङ्गबाट पानी जस्तो तरल पदार्थ बग्नुयोनि, लिङ्ग वा मलद्वारबाट अस्वाभाविक रूपमा तरल पदार्थ निस्कनु
  • पिसाब गर्दा दुख्नु, पोल्नु
  • यौनाङ्गमा घाउ हुनुयौनाङ्ग वा मलद्वार वरिपरि चिलाउनु, खटिरा आउनु, सुन्निनु, गाँठागुठी आउनु वा फोका उठ्नु
  • अण्डकोष सुन्निनु र दुख्नु
  • यौन सम्पर्कको वेला भित्रपट्टि दुख्नु वा रगत आउनु
  • तल्लो पेट दुख्नु
  • यौनजन्य सङ्क्रमणबाट बच्ने उपाय
  • यौनजन्य सङ्क्रमण भएको थाहा भएमा भरसक यौन सम्पर्क नगर्ने, गर्नै परे सही तरिकाले कन्डमको प्रयोग गर्ने ।
  • यदि तपाईंलाई आफूमा यौनजन्य सङ्क्रमण भएको जस्तो लाग्छ भने एक व्यक्तिबाट अरू व्यक्तिमा यौनजन्य सङ्क्रमण नहोस् भन्नका लागि असुरक्षित यौन सम्पर्क नराख्ने ।
  • यौनजन्य सङ्क्रमणको शङ्का भएमा तुरुन्तै स्वास्थ्य संस्था वा किशोर किशोरी मैत्री सेवामा गई सल्लाह सहित उपचार गराउने ।
  • उपचार गराउँदा पूर्ण रूपमा उपचार भइ सकेको पक्का गर्ने र उपचारका लागि आफ्नो यौनसाथीलाई पनि संगै लाने अथवा उपचारको लागि जान उत्प्रेरित गर्ने ।

     


 

यौन तथा प्रजनन सम्बन्धी अधिकारहरू

मानव भएको नाताले हामी सबैले पाउनु पर्ने मानव अधिकार समान, सही र निष्पक्ष रूपमा पाउनु पर्छ भनेर हाम्रोकानुनमा पनि व्यवस्था गरिएकोछ । यी मानव अधिकारहरूमा यौन तथा प्रजनन सम्बन्धी अधिकार पनि पर्दछन् जसमा तपाईंलाई आफ्नो यौन तथा यौन जीवनको जिम्मेवारीपूर्वक छनोट गर्ने अधिकार छ । यहाँ संक्षेपमा यौन तथा प्रजनन सम्बन्धी अधिकारहरूबारे उल्लेख गरिएका छन् 

  • तपाईंलाई सधैं आफ्नो यौन स्वास्थ्यको रक्षा गर्ने अधिकार छ । उदाहरणका लागि एच.आई.भी. लगायत अन्य यौनजन्य सङ्क्रमणको रोकथाम गर्न कन्डमको प्रयोग गर्ने वा नचाहिएको अनिच्छुक गर्भ धारण नगर्नका लागि कन्डम वा अन्य परिवार नियोजनका साधनहरूको प्रयोग गर्न पाउने अधिकार छ । त्यसैले चाहे तपाईं अविवाहित वा विवाहित जुनसुकै अवस्थामा हुनु होस् तपाईंले चाहेको बेला आफूलाई आवश्यक पर्ने स्वास्थ्य सेवा विना हिचकिचावट सजिलैसंग अर्को व्यक्तिको अनुमतिविना नै आवश्यकता अनुसार र आफूले चाहेको परिवार नियोजनका साधन सहित सरसल्लाह लिन पाउनु तपाईंको अधिकार हो । यस्तो सेवाको उपभोगमा चाहे त्यो पुरुष वा स्त्री जुनसुकै जात, लिङ्ग र धर्मसंग सम्बन्धित वा अन्य कुनै होस् सेवा पाउने हकमा लैङ्गिक विभेद नगरी विना भेदभाव सेवा लिन आउनेलाई सेवा दिनु पर्छ । ध्यान राख्नुहोस्, तपाईंले चाहेको वा छानेको परिवार नियोजनका साधनका बारेमा परामर्श सेवा सहित परिवार नियोजनका साधन प्राप्त गर्न पाउनु तपाईंको अधिकार हो ।
  • तपाईंलाई कसैसंग यौन सम्पर्क राख्ने इच्छा छैन भने कुनै प्रकारको यौन क्रियाकलापमा तपाईलाईं जबरजस्ती गर्न पाइँदैन । यौन सम्पर्क भनेको सधै दुबैको वा जोडीको समान निर्णयमा र सहमतिमा हुनु पर्छ जसले यौन व्यवहार स्वस्थ र आनन्दमय बनाउँछ ।
  • तपाईको प्रजनन अधिकार भन्नाले तपाईले आफ्नो शरीरको निर्णय लिन पाउनुका साथै तपार्इले कति बच्चा पाउने वा नपाउने, कहिले पाउने, एउटा र अर्को बच्चाको जन्मान्तर कति हुने भन्ने निर्णय गर्न पाउने अधिकार हो भन्ने बुझ्नु पर्छ । तर कसैले पनि कुनै केटी वा महिलालाई तिमीले बच्चा यति पाउनै पर्छ, तिमीले गर्भ पतन गराउनै पर्छ भनी जबरजस्ती गर्न पाइँदैन ।
  • तपाईंलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी विषयमा सूचना तथा जानकारी पाउने अधिकार छ । यसको अर्थ हो, तपाईंले पढ्ने ठाउँ विद्यालय आदि, तपार्इंले सेवा लिन जाने स्वास्थ्य संस्थाबाट यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही र स्पष्ट जानकारी प्राप्त गरेको हुनुपर्दछ जसले गर्दा तपाईंले आफूले चाहेको परिवार नियोजनका साधन र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी राम्रो निर्णय लिन सक्नु हुन्छ ।
  • तपाईंले आफ्ना सूचना गोप्य राख्न पाउनु तपाईको अधिकार हो । यसको अर्थ हो, तपाईं स्वास्थ्य संस्थामा सेवा लिन जाँदा स्वास्थ्यकर्मीहरूले तपाईंको जस्तोसुकै सूचना गोप्य राखि दिनु पर्ने हुन्छ र नराखेका खण्डमा तपाईंले आफ्नो गोप्यता भङ्ग भएको भनी उजुरी पनि दिन सक्नु हुन्छ । तपार्इं र स्वास्थ्यकर्मीबिच के छलफल भएको थियो भन्ने कुरा पत्तो लगाउने प्रयास कसैले पनि गर्न पाईदैन । गरेमा ग्राहकले अधिकार हननको उजुरी गर्न सक्दछ ।
  • कसैले पनि तपाईलाई लिङ्गका आधारमा भेदभाव गर्न पाईदैन र तपाईंको लिङ्गका आधारमा कसैले तपाईलाई भेदभाव गर्न नपाउने त्यो तपाईको अधिकार हो। यसको अर्थ हो, यदि तपाई समलिङ्गी (तपाईं पुरुष भएर पुरुषलाई नै माया र स्त्री भएर स्त्रीलाई नै माया गर्नु हुन्छ भने) वा तपाईं तेस्रो लिङ्गी हुनु हुन्छ भने त्यस आधारमा कसैले पनि तपाईंमाथि भेदभाव गर्न पाउँदैन।
  • तपाईलाई आफ्नो इच्छानुसारको जीवन बाँच्न पाउने अधिकार छ । यसको अर्थ हो, तपाईंले इच्छाएको व्यक्तिसँग विवाह गर्न पाउनु र चाहेको खण्डमा विवाह नै नगर्न पाउनु तपाईको अधिकार हो । त्यसै गरी अविवाहित आमा भए पनि कुनै पनि समाजबाट भेदभाव रहित भएर बाँच्न पाउनु तपार्इको अधिकार हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रजनन अधिकारहरूलाई गम्भीरतापूर्वक लिएको छ । तपाईद्वारा परिवार नियोजन, एच.आई.भी. लगायतका यौनजन्य सङ्क्रमण र सुरक्षित गर्भपतन सम्बन्धी सूचना र सल्लाहमा सजिलै पहुच पुर्याउन सकियोस् भन्ने हेतुले सरकारले किशोर किशोरी मैत्री स्वास्थ्य सेवा उपलब्ध गराइ रहेको छ । किशोर किशोरी मैत्री सेवा उपलब्ध नभइ सकेका स्वास्थ्य संस्थाहरूमा समेत तपाईलाई चाहेको बेला तपाईले खोजेको जानकारी र सेवा पाउने अधिकार छ । अन्य संस्थाहरू जस्तै; महिला तथा बालबालिका कार्यालय, महिला कानुनी तथा विकास मञ्च जस्ता अन्य धेरै निकायहरूले पनि तपाईहरूले स्वस्थ यौन तथा प्रजनन जीवन निर्वाह गर्न पाउनु पर्छ भन्ने हेतुले विभिन्न सेवा उपलब्ध गराउदै आइरहेका छन् । माथि उल्लिखित केही अधिकारकाहरूका लागि कानुनी अधिकार पनि रहेका छन् जसको अवस्था हेरी कानुनी सेवा दाबी गर्न सकिन्छ ।

 


 

नेपालमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अधिकारहरू सुनिश्चित गर्न गरिएका व्यवस्थाहरू

सुरक्षित गर्भपतन सम्बन्धी कानुन धेरै केटी वा महिलाहरूमा आफू किशोरी वा युवा अवस्थामा हुँदा नचाहँदा नचाहँदै पनि विभिन्न कारणवश गर्भ रहेको हुन सक्छ । यस्तो अवस्थामा केटी वा महिलाले सुरक्षित तरिकाले कानुनी मान्यता अनुसार गर्भ पतन गराउन पाउँछिन् । नेपालमा सन् २००२ मा गर्भपतनलाई कानुनी मान्यता दिइयो । सबै प्रकारका गर्भलाई १२ हप्तासम्म गर्भ पतन गराउन सकिन्छ । यदि केटी÷महिला १६ भन्दा बढी उमेरकी छिन् भने श्रीमान् वा अभिभावकको अनुमति आवश्यक पर्दैन । तर यदि केटी÷महिला १६ भन्दा मुनिकी छिन् भने उनलाई आफ्ना अभिमावक वा नातेदारको अनुमति वा स्वीकृति आवश्यक पर्दछ । बलात्कार तथा हाडनाता करणी (आफ्नो परिवारभित्रकै सदस्यद्वारा गरिने जबरजस्ती यौन सम्पर्क) को कारण गर्भ रहेमा १८ हप्तासम्मको गर्भ पतन गराउन सकिन्छ । यदि गर्भवती महिलाको जीवन वा उनको शारीरिक मानसिक अवस्था अस्वस्थ छ र महिलाको जीवन खतरामा पर्न सक्छ भन्ने प्रमाणित भयो भने वा गर्भको शिशुमा अपाङ्गता वा असामान्यता देखिएको खण्डमा चिकित्सकको सल्लाह अनुरूप पुरै विकसित भइ सकेको गर्भको पनि गर्भ पतन गराउन सकिन्छ । त्यस्तो अवस्थाको गर्भ पतनमा अनिवार्य रूपमा चिकित्सकको राय र स्वीकृति लिनु पर्छ ।

गर्भको शिशुको लिङ्ग हेरेर छोरी रहिछन् भन्ने आधारमा मात्रै गर्भ पतन गराउँदा, केटी वा महिलालाई आफ्नो इच्छाविना जबरजस्ती गर्भ पतन गराउन लगाउँदा अवैधानीक गर्भपतन भएको मानीन्छ ।

सुरक्षित गर्भ पतन सेवा क्षेत्रीय, अञ्चल र जिल्ला अस्पताल लगायत प्राथमिक स्वास्थ्य सेवा केन्द्रसम्मका स्वास्थ्य संस्थामा उपलब्ध छ । तपाईंलाई सुरक्षित गर्भ पतन सम्बन्धी सूचना विस्तृत रूपमा लिन मन छ भने तपाईंको नजिकको स्वास्थ्य संस्थामा जान सक्नु हुन्छ ।

बलात्कार सम्बन्धी कानुन

बलात्कार भन्नाले कुनै व्यक्तिले महिलासँग कुनै सल्लाह नगरी महिलाको इच्छा विपरीत जबरजस्ती गरिने यौन सम्पर्क हो" । यस्तो घटनामा सामेल हुनेलाई मुलुकी ऐन, २०२० ले बलात्कार गरेको ठहर्याएमा धेरैमा १५ वर्ष र थोरैमा ५ वर्षसम्मको कैद सजाय तोकेको छ । विवाहित जोडीमा पनि कसैको अनुमतिविना जबरजस्ती यौन सम्पर्क राख्ने प्रयास गरेमा त्यसलाई पनि बलात्कारै मानिएको छ तर दुर्भाग्यवश, दुबै श्रीमान् श्रीमतीले जबरजस्ती सम्भोग गर्ने प्रयास भएमा नेपालको कानुनले ३ देखि ६ महिनासम्मको सजाय मात्र तोकेको छ ।

वैवाहिक कानुन २० वर्ष पुगेका केटा र केटीले आफ्ना अभिभावकको स्वीकृतिविना विवाह गर्न पाउछन् र उनीहरूले दम्पतीका रूपमा कानुनी दर्ता गर्न पनि पाउछन् । त्यसै गरी केटाकेटी १८ वर्षका मात्र छन् भने अभिभावकका सल्लाहमा मात्र केटाकेटीले विवाह गर्न पाउछन्। तर सधै तपाईले के याद गर्नु होस् भने विवाह गर्ने नगर्ने भन्ने निर्णय र आफूले चाहेको व्यक्तिसंग विवाह गर्न पाउनु पर्छ भन्ने कुरा तपाईको अधिकार हो ।

 

यममाया श्रेष्ठ

 

सरकारी सूचना

स्थानीय युवा सझेदारी कार्यक्रम सञ्चालनमा

स्थानीय युवा सझ...

स्थानीय युवा सझेदारी कार्यक्रम सञ्चालनमा युवालाई आफ्नो मुलुक र समाजप्रति...

2.png
3.png
1.png