You are here: गृहपृष्‍ठसफलताको कथासफल युवा उद्यमी

Download

प्रकाशित मिति: २०७१/१२/२१ राजधानी दैनिक

उमेरले भर्खरै २९ वर्ष पार गर्दै गरेका जोसिला युवा हुन्, हरि तिमल्सिना । आफ्नै स्वदेशी माटोमा केही गरौं भन्ने अट्टहास भावना छ, उनमा । उनी कुनै पनि राम्रा योजनाहरूमा अघि बढ्न कत्ति पनि हिचकिचाउँदैनन् । मकवानपुरको मोटरबाटोसम्म पुग्न नसकेको विकट आमभञ्ज्याङ गाविस उनको जन्मथलो हो । निम्न वर्गीय खेती किसानी बा–आमा नारायणप्रसाद र बालकुमारी तिमल्सिनाको कोखबाट उनको जन्म भयो । तर पनि अहिले उनी १० वर्षकै छोटो अन्तरालमा एक सफल स्वास्थ्य व्यवसायी भएका छन् । तन, मन, लगन अनि इमानदारिता साथ काम गरे जुनै क्षेत्रको व्यवासायमा सफल भइन्छ भन्ने उनको अनुभव छन् ।

आजभन्दा ठीक १० वर्षअघि अर्थात् ०६२ सालमा प्लस टुको अध्ययन गर्दै गर्दा उनी काठमाडौं छिरेका हुन् । त्यतिबेला फगत रित्तो हात उनी काठमाडौ खाल्डोमा छिरेका थिए । उनलाई सुरुमा काठमाडौं छिर्दा आजको यो स्थानमा आइपुग्छु भन्ने कत्ति पनि कल्पना थिएन । न त व्यापार–व्यवसाय गर्ने सोच नै थियो । उनी त्यतिबेला काँचो माटोसरह थिए । सुरुमा काठमाडौंमा आएर उनी केही दिन दिदीको घरमा बसे । यसै क्रममा ललितपुरको औद्योगिक क्षेत्रमा एउटा गार्मेन्टमा उनले काम गर्न सुरु

गरे । लगभग त्यहाँ उनले डेढ महिना काम गरे । उनलाई सो काम असाध्यै गाह्रो लाग्यो । बरु उनलाई सोही गार्मेन्टमा गार्डमा काम गर्ने दाइको काम सजिलो होला भन्ने लाग्यो । उनले ती गार्ड दाइलाई त्यस्तै काम मिलाइदिन याचना गरे । नभन्दै तिनले आफूले काम गरेको सेक्युरेटी अफिसमा उनलाई पुर्याइदिए । अनि काम पनि लागाइदिए, गार्डमा । उनी गार्डको रूपमा हार्दिक क्लिनिकमा खटिए । त्यहाँ उनी निरन्तर काममा जान थाले । एक महिना गरेको कामको राम्रो मूल्याङ्कन र सम्भावना देखेर उनलाई सो क्लिनिकका सरहरूले अर्को काम लगाए । त्यो काम भने क्लिनिकको औषधि पसल र ल्याबको सामान ओसारप्रसार गर्ने थियो । उनले साइकल हाँकेर लगभग एक वर्ष त्यो काम गरे । सोबापत उनले ३५ सय लिन्थे । एक वर्षपछि भने त्यहींका सरहरू उत्सव अमात्य, हुतराज दुलालसँग मिलेर ०६२ सालको अन्त्यतिर काठमाडौं सोह्रखुट्टेमा कुशल पोलिक्लिनिक खोले । दुई वर्ष उनले सो क्लिनिक चलाए, अनि बेचे । त्यहाँबाट प्राप्त मुनाफाले फेरि उनले ललितपुर लगनखेलमा ललितपुर पोलिक्लिनिक खोले । त्यहाँ पनि उनको पोलिक्लिनिक राम्रैसँग चल्यो । बिरामीको भीड लाग्न थाल्यो । सेवाका हिसाबले त्यहाँ विभिन्न रोगसँग सम्बन्धित डाक्टर आबद्ध थिए । अनि त उनमा झनै उत्साह थपियो । खासगरी त्यहाँ बाथका रोगीहरू बढी देखिए । पोलिक्लिनिकमा क्षमताभन्दा बढी बिमारी आउन थाले । सोही कारण उनले अझै विस्तारित ढंगले काम गर्न केही वर्ष चलाएर सो पोलिक्लिनिक पनि बेचे ।

बिरामी बमोजिम पर्याप्त सेवा दिन नसकेकै कारण उनले त्यसलाई बेचेका थिए । त्यहाँ आउने बिरामीलाई नै मध्येनजर गरेर उनले जाउलाखेलमा आरोग्य स्वास्थ्य सदन, नेपाल बाथ रोग उपचार केन्द्र स्थापना गरे । जहाँ वरिष्ठ बाथ रोग विशेषज्ञ डा. बुद्धि पौड्याल, डा. मधु ज्ञावली, पार्वती श्रेष्ठसँग उनले सहकार्य गरेका थिए । अर्थात्, डाक्टरहरूसँगको संयुक्त लगानीमा उनले सो बाथ रोगको नमुना संस्था खोले । जुन बाथ रोग सम्बन्धमा नेपालकै सबैभन्दा पहिलो र अग्रणी संस्था बन्यो । १ करोडभन्दा माथिको लगानी भई विगत झन्डै एक दशकदेखि सो सदन सञ्चालनमा छ । बाथ रोगलाई नै केन्द्रबिन्दु बनाइएको र बाथ रोग सम्बन्धमा नेपालकै मुख्य–मुख्य डाक्टर सम्बन्धित रहेका कारण उनको आरोग्य स्वास्थ्य सदन अत्यधिक चल्यो । अहिले पनि बाथ रोगका लागि नेपाल मात्र नभएर विदेशबाट समेत त्यहाँ बिरामी आउने गरेको उनी बताउँछन् । प्रायः सबै हस्पिटलका डाक्टर बाथ रोगको सघन उपचारका लागि बिरामीलाई आरोग्यमै जान सल्लाह दिने गर्छन् । आरोग्य स्वास्थ्य सदन (नेपाल बाथ रोग उपचार केन्द्र) अहिले पनि सबै व्यवस्थापन उनले नै हेर्छन् । हाल आरोग्य स्वास्थ्य सदनमा २२ जना जनशक्ति आबद्ध छन् । सदनले वार्षिक लाखौं सरकारलाई कर बुझाउँदै आएको छ । राम्रो मुनाफा गर्न सफल उनको आरोग्य स्वास्थ्य सदनले साझेदार सदस्यहरूलाई बर्सेनि मुनाफा बाँडफाँट गर्नुका साथै नजिकै आठ आना बराबर आकर्षक जग्गा पनि खरिद गरेको छ । छिट्टै आफ्नै भवन र जग्गामा अझै विस्तारित सेवा सुविधा सहित काम गर्ने उनीहरूको योजना छ । आफ्नो संस्थामा आएर बाथको उपचार गर्ने अधिकांश बिमारी अत्यन्त खुसी हुने गरेको उनी बताउँछन् । बाथ रोगको अलावा उनको आरोग्य स्वास्थ्य सदनमा मधुमेह, थाइराइड, स्त्री रोग, छाला तथा यौन रोग, फिजियोथेरापी लगायत सेवा पनि छन् । तर, मुख्यतः बाथ रोगको सेवा नै हो ।

हरिले योबाहेक अन्य धेरै संस्थामा लगानी विस्तार गरेका छन् । हालै खुलेको गणेशमान सिंह हस्पिटल एन्ड रिसर्च सेन्टरमा पनि उनले लगानी गरेका छन् । त्यसैगरी, उनले नेपाल हृदय रोग निवारण संस्था, शुभतारा बचत तथा ऋण सहकारी संस्था, बृहत् प्रतिफल बहुउद्देश्य सहकारी संस्था, आत्ममिलन बचत तथा ऋण सहकारी संस्थालगायतका सस्थाहरूमा सेयर लगानी गरेका छन् । हालै मात्र उनलाई नेपाल युवा समाज नामक संस्थाले सफल युवा व्यवसायी ‘राष्ट्रिय सेवा सम्मान २०७१’ ले सम्मान गरेको छ । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले उनलाइ स्वास्थ्य सेवाको क्षेत्रमा इमानदारिता र सक्रियतापूर्वक काम गरी नेपाली नागरिक समाजमा समर्पित रही पवित्र कार्य गरेको भन्दै दोसल्ला ओढाई सम्मान गरेका थिए । उनी आफ्नो कार्यको मूल्यांकन भई सम्मानित भएकोमा ज्यादै हर्षित छन् । त्यसैले त उनी भन्छन्, आत्मविश्वास, लगनशीलता र इमानदारिता नै सफलताको हतियार हो ।’ यसरी उनी स्वास्थ्य उद्यमीको रूपमा एक दशकमै सफल भएका छन् । उनी कुनै पनि पेसा व्यवसायमा सफल हुन शिक्षाको अधिक महत्व रहने बताउँछन । सधैं सफल व्यक्तिहरूको जीवनी पढ्न रुचाउने उनी अनौपचारिक रूपमा अध्ययनशील समेत छन् । अब उनी आफ्ना बिमारीहरूको चाहना बमोजिम काठमाडौं बाहिर पनि सेवा दिने सोचमा छन् । विडम्बना, बाथ रोग सम्बन्धमा नेपालमा जम्मा चारजना मात्र विशेषज्ञ डाक्टर रहेको उनी बताउँछन् । भन्छन्, ‘नेपालमा जम्मा जनसंख्याको १५ प्रतिशतभन्दा बढी मानिस बाथ रोगी छन् ।

हरि अहिले ललितपुरको धापाखेलमा आफ्नै घरमा परिवारका साथमा बस्छन् । चार आना जग्गामा बनेको साँढे तीनतले घर उनले दुइ वर्षअघि मात्र किनेका हुन् । त्यसमा उनको बुवाको पुख्र्यौली सम्पत्ति एक पैसा पनि खर्च भएको छैन । सबै उनले नै कमाएका हुन् । छोटो अवधिमा पनि आकर्षक प्रगति गरेका हरि युवाहरूलाई स्वदेशमै काम गर्न सल्लाह दिन्छन् । स्वदेशमा जति विदेशमा अवसर नभएको उनी बताउँछन । तर, कुनै पनि काम गर्न लाज मान्न नहुने अनुभव र तर्क छ, उनको । विदेश जान लगानी गर्ने पैसाले स्वदेशमै धेरै गर्न सकिने उनको भनाइ छ ।

सरकारी सूचना

स्थानीय युवा सझेदारी कार्यक्रम सञ्चालनमा

स्थानीय युवा सझ...

स्थानीय युवा सझेदारी कार्यक्रम सञ्चालनमा युवालाई आफ्नो मुलुक र समाजप्रति...

2.png
3.png
1.png